सिक्किमले बनायो पहिलो विमानस्थल

उत्तरपूर्वी भारतीय राज्य सिक्किमले पहिलो विमानस्थल बनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज उद्घाटन गर्ने उक्त विमानस्थलबाट भारतका अन्य सहर तथा नेपालका सहर पनि हवाई सञ्जालबाट जोडिन सक्ने भएका छन्।

सन् २००९ मा शिलान्यास भएको पाकयोङ विमानस्थल आन्तरिक तथा क्षेत्रीय उडानका लागि योग्य भएको अधिकारीहरूले जानकारी दिएका छन्।

९ वर्षमा निर्माण सम्पन्न भएको उक्त विमानस्थलको धावनमार्ग १७ सय मिटर लामो र ३० मिटर चौडा छ। समुद्र सतहदेखि ४५ सय फिट उचाइमा रहेको यो विमानस्थल पाकयोङ गाउँभन्दा २ किलोमिटरमाथि छ।

गान्तोकबाट ३३ किलोमिटरको दूरीमा  रहेको विमानस्थल २०१ एकड क्षेत्रफलमा फैलिएको छ।

इन्डियन एयरपोर्ट अथरिटीले निर्माण गरेका उक्त विमानस्थल ६ अर्ब लागतमा बनेको हो।

विमानस्थलबाट पहिलो व्यावसायिक उडान भने अक्टोबर ४ बाट सुरु हुने निर्देशक मन्जुनाथले जानकारी दिएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।

सो पत्रिकाका अनुसार उक्त विमानस्थलबाट स्पाइसजेटले विभिन्न सहरमा उडान गर्नेछ। सुरुमा भारतका सहरहरुमा उडान गरेपनि पछि भने नेपाल र भुटानका सहरमा पनि उडान गर्न सकिने मन्जुनाथले जानकारी दिएका छन्।

‘सुरुवातमा हामी आन्तरिक उडान गर्छौं तर विस्तारै अन्तर्राष्ट्रिय उडान पनि सुरु गर्छौ’ उनले भने,‘भुटानको पारो, नेपालको काठमाडौं र बंगलादेशको ढाकामा हामी उडान गर्छौं।’

बम्बार्डिएयरको क्यू ४०० र एटिआर ७२ सिरिजका जहाज उडाउन मिल्ने यो विमानस्थलबाट काठमाडौं उडान भएमा सिक्किम काठमाडौंसँग हवाई सञ्जालमा जोडिने छ। सिक्किममा नेपालीभाषीको बाहुल्यता छ।

Recommended For You

Leave a Reply