असन्तुष्टि पोख्न माधव नेपालले डाके स्थायी समिति भेला

सरकारका काम र पार्टी सञ्चालनप्रति असन्तुष्ट  नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समितिको छुट्टै भेला डाकेका छन्।

बिहिबारको संसद बैठकमा प्रतिपक्षी नेताजसरी सरकारविरूद्ध खनिएका नेता नेपालले शुक्रबार स्थायी समिति सदस्यहरूसँग छलफल गर्न भेला डाकेका हुन।

नेपालले छलफलको विषय नतोके पनि चियापानका लागि निम्तो दिएको नेकपाका स्थायी समिति सदस्य मणि थापाले सेतोपाटीलाई बताए।

‘सबै स्थायी समिति डाक्नुभएको भन्ने खबर छ’, थापाले भने, ‘तीन बजेका लागि निम्तो आएको छ।’

स्थायी समिति बैठकमा भैराखेको ढिलाइ र नेकपाको निर्णय प्रक्रियाबारे छलफल कार्यक्रम भएप नि चियपानको नाम दिइएको नेता नेपाल निकट एक सदस्यले  बताए।

‘बैठक भन्ने शब्द राख्न मिलेन, परामर्शभन्दा अर्को अर्थ लाग्ला भनेर चियापान भनियो’, ती सदस्यले भने, ‘तर यो दसैँ तिहारको शुभकामना दिने चियापान होइन।’

नेकपाका अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल देशबाहिर भएका बेला नेता नेपालले डाकेको भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

दुबै अध्यक्षबाहिर गए पनि कसैलाई कार्यवाहक जिम्मेवारी दिइएको छैन।

प्रदेश संयोजक र अध्यक्ष चयन गर्दा अध्यक्षद्वय ओली र दाहालले एकलौटी गरेकोप्रति नेता नेपाल असन्तुष्ट छन्।

Recommended For You

Leave a Reply