त्रिवि विश्वको उत्कृष्ट विश्वविद्यालयको वरियतामा समावेश

काठमाडौँ –नेपालको सबैभन्दा ठूलो र पूरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय ‘टाइम्स हाइअर एजुकेशन वर्ल्ड युनिभरसिटी र्‍याङ्किङ’को वरियतामा पहिलो पटक समावेश भएको छ ।

समग्र विश्वविद्यालयको र्‍याङ्किङमा त्रिभुवन विश्वविद्यालय ‘टाइम्स हाइअर एडुकेशन’को तालिकाको ८०१ देखि १००० समूहमा रहेको छ ।

‘टाइम्स हाइअर एडुकेशन वर्ल्ड युनिभरसिटी र्‍याङ्किङ’ वार्षीक रुपमा टाइम्स हाईअर एजुकेशन म्यागेजिनले विश्वभरीका विश्वविद्यालयको गुणस्तरको विश्लेषण र तुलना गरेर निकाल्ने वरियताक्रम हो ।

टाइम्स हाइअर एडुकेशन र्‍याङ्किङलाई विश्वको तीन प्रमुख विश्वविद्यालयहरुको वरियताक्रममध्ये एक मानिन्छ । बाँकी दुईमा ‘एकाडेमी र्‍याङ्किङ अफ वल्ड युनिभरसिटिज्’ र ‘क्युएस वल्ड युनिभर्सिटी र्याङ्कििङ’ मानिन्छन् ।

सन् २००४ मा माथि उल्लेखित क्युएससँग मिलेर टाइम्स हाइअर एजुकेशनले विश्वभरीको विश्वविद्यालयको वरियताक्रम प्रकाशित गर्न शुरु गरेको थियो । तर सन् २००९ मा यी दुई बीचको सहकार्य तोडिएपछि दुईले अलग अलग वरियताक्रम प्रकाशन गर्न थाले ।

वरियतामा किन प-यो त्रिभुवन विश्वविद्यालय ?
वरियता प्रकाशित गर्ने म्यागजिनको वेबसाइटमा उल्लेख जानकारीका अनुसार सन् १९५९ स्थापना भएको त्रिभुवन विश्वविद्यालयले शुरुवाती दिनमा त्रिपुरेश्वर क्यापसमा आफ्ना सम्पूर्ण मास्टर डिग्री पढाउथ्यो ।

सन् १९६७ मा मात्र विश्वविद्यालय हालको १५५ हेक्टरमा फैलिएको किर्तिपुरको संरचनामा सरेको थियो ।

वेबसाइटले एक वर्ष अघिको तथ्यांकमा विश्वविद्यालयको देशभरि ६० आङ्गिक क्याम्पस र १०८४ सम्बन्धन प्राप्त गरेका क्याम्पस रहेका बताएको छ । त्यस्तै ३,५९,३७७ विद्यार्थी रहेको यो विश्वविद्यालय विद्यार्थी संङ्ख्याको आधारमा सबैभन्दा विश्वको ११ औं ठूलो विश्वविद्यालय उल्लेख छ  ।

वरियताक्रममा अन्य देशका उच्च शैक्षिक संस्थाको अवस्था
यस वरियताक्रमको शीर्ष स्थानमा लगातार तेस्रो वर्ष पनि ब्रिटेनको अक्सफोर्ड विश्वविश्वविद्यालय परेको छ ।

दोस्रो स्थानमा पनि संयुक्त अधिराज्यकै क्याम्ब्रिज विश्वविद्यालय रहेको छ । यी दुईले संसारभरका विश्वविद्यालयहरुको बरियतामा शिर्ष स्थान लिएको भए पनि समग्र ब्रिटिस विश्वविद्यालयको अवस्था भने अघिल्लो वर्षको तुलनामा खस्केको वेबसाइटले बताएको छ ।

यो वर्षको र्‍याङ्किङमा पहिलो पटक संयुक्त अधिराज्यको भन्दा जापानी विश्वविद्यालयहरु बढी परेका छन् ।

र्‍याङ्किङमा सबैभन्दा बलियो प्रभाव अमेरिकी विश्वविद्यालयहरुको रहेको छ । तेस्रो स्थानमा अमेरिकी विश्वविद्यालय स्टानफोर्ड रहेको छ । शीर्ष २० मा अमेरिका एक्लैको १५ विश्वविद्यालय समावेश छन् ।

शीर्ष २० मा ब्रिटेन र अमेरिकाबाहेक अन्य देशको एउटै विश्वविद्यालय रहेको छ । स्वीटजरल्याण्डको ज्युरिकमा रहेको ‘स्वीस फेडरल इन्स्टीच्युट अफ टेक्नोलोजी’ ११ स्थानमा रहेको छ । यस विश्वविद्यालयको सबैभन्दा प्रसिद्ध पूर्व–विद्यार्थीहरुमध्य अल्बर्ट आइन्स्टाइन पनि एक हुन् ।

एशियाली देशहरुमा जापानलाई चीन र दक्षिण कोरियाका विश्वविद्यालयले बलियो चुनौती दिएका छन् । युरोप र अमेरिकाच बाहिर सबै भन्दा शिर्ष स्थानमा रहेको विश्वविद्यालय चीनको रहेको छ । चीनको सिन्ह्वा विश्वविद्यालय शीर्ष २२ स्थानमा परेको छ ।

भारतको धेरै वटा विश्वविद्यालयहरु यो सूचीमा परेको भए पनि सबैभन्दा शीर्ष स्थानको विश्वविद्यालय २५१ देखि ३०० समुहमा रहेको छ ।

इण्डियन इन्स्टिच्यूट अफ साइन्सले उक्त समूहमा रहेर भारतको उच्च शैक्षिक संस्थाहरुमध्य शीर्ष स्थान लिएको छ ।
त्यसपछि आइआईटी–इन्दोर ३५१ देखि ४०० को समूहमा रहेको छ ।

इण्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीको छोटो रुप आईआईटी भारत स्वतन्त्रता पछि नेहरुको परिकल्पनामा गठन गरिएको फरक खालको उच्च शैक्षिक सस्थान हुन् ।

विज्ञान र इन्जिनियरिङ्ग शिक्षामा केन्द्रीत यी शैक्षिक सस्थाहरु एउटै पाठ्यक्रममा संरचनामा भारतभरी छरिरएर रहेका छन् । भारत सरकारले विगतदेखिनै यिनमा ठूलो रकम लगानी गरेको छ ।

भारतमा रहेका २३ आईआईटी मध्ये ११ वटा यस र्‍याङ्किङमा पर्नुले पनि उसको लगानीले काम गरेको देखाउँछ ।

यो वर्ष नेपालको अतिरिक्त कजाकस्थान, इराक र तान्जानियाका विश्वविद्यायहरु यो र्याङ्कििङमा पहिलो प्रवेश गरेका छन् । यी चारदेशको प्रवेशसँगै अब यस र्याकङ्किङमा ८५ देशका विश्वविद्यालयहरु समेटिएका छन् ।

केही आलोचकले यो टाइम्स हाइअर एजुकेशनको विश्ववरियताले विज्ञान र प्राविधिक शिक्षामा केन्दीत विश्वविद्यालयलाई बढी अंकभार दिने गरेको आरोप लगाउने गरेका छन् ।

तर म्यागजिनले भने आफूहरुले आफ्नो विश्वभरीका विश्वविद्यालयको वरियताक्रम अनुसन्धान आउटपुट र त्यीनको प्रभाव, शैक्षिक प्रतिष्ठा, सिकाई, उद्योगहरुबाट आय र अन्तराष्ट्रिय सम्बन्धनलाई आधार मान्ने गरेको बताउँदै आएको छ ।

Recommended For You

Leave a Reply