मालीमा जथाभावी गोली प्रहार हुँदा २५ बढीको मृत्यु

एजेन्सीबामाको,  असोज १६

माली र नाइजेरियाको सिमा क्षेत्रमा पर्ने ठाउँमा भएको हिंसात्मक घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

गत हप्ताको शुक्रबार र शनिबार भएका घटनामा उनीहरुको मृत्यु भएको सुरक्षा श्रोतले सोमबार जनाएको छ ।

‘गत शुक्रबार र शनिबार मात्रै कम्तीमा २५ नागरिक मारिएका छन्, उनीहरु अमालौलौमा हतियारधारीहरूको आक्रमणबाट मारिएका हुन्,’ स्थानीय एक अधिकारीले भने ।

स्थानीय सुरक्षा श्रोत र अर्का एक सरकारी अधिकारीले पनि यो तथ्यको पुष्टि गरेको समाचारमा जनाइएको छ ।

‘आक्रमणकारीहरु मोटरसाईकलमा आएका थिए । मानिसहरु बसेका ठाउँमा जथाभावी गोली प्रहार गरे,’ ती अधिकारीले बताए ।

गत सेप्टेम्बर २५ तारिखका दिन मेनकाको पश्चिमी क्षेत्रमा भएको यस्तै आक्रमणमा परी कम्तीमा २७ जनाको मृत्यु भएको थियो ।

फुलानी र टरेगमा भएका घटनाहरुमा परी यस बर्ष मात्रै झण्डै २०० जना मारिएको अधिकारीहरुले जनाएका छन् ।

Recommended For You

Leave a Reply