यो वर्षको सातौं पश्चिमी वायु: आज पानी पर्ने, भोलि पनि बादल

पुस २३ गतेपछि लगालग आइरहेको पश्चिमी वायुको प्रभावले देशभर लगातार एकसातासम्म घाम लाग्न सकेको छैन।

त्यसयता पहाडी भू-भागमा सातामा दुई दिन हल्कादेखि मध्यम वर्षा भएको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। यो क्रम अझै केही दिन लम्बिने देखिएको छ।

‘यसवर्षको सातौं पश्चिमी वायुले बिहीबारदेखि नै मौसम बदलिएको छ। पश्चिमी क्षेत्रमा हिजै पानी परिसक्यो। राजधानी उपत्यका आसपासमा शुक्रबार अपरान्हपछि पानी पर्ने छ,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘शनिबार पनि बादल लाग्नेछ। आइतबार मौसम केही खुले पनि फेरि अर्को पश्चिमी वायु आउने सम्भावना छ।’

यो वर्ष अहिलेसम्म भएको हिउँदे वर्षा नै औसतभन्दा बढी भइसकेको उनले जानकारी दिइन्।

‘यसपालि पश्चिमी वायु धेरै नै आयो, पोहोर परारको औसतभन्दा बढी हिउँदे वर्षा भइसक्यो,’ उनले भनिन्।

नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायू भूमध्य सागरदेखि आउँछ। भूमध्य सागरको माथि बन्ने यो प्रणाली सतहदेखि झन्डै पाँच किलोमिटर माथि हुन्छ।

निकै माथि हुने भएकाले यो प्रणाली मनसुनजस्तो बलियो हुँदैन। तर यसले उच्च क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बर्खा गराउँछ।मनसुन सकिनासाथ सुरू हुने यो प्रणाली मनसुन सुरू नभइउन्जेल आउन सक्छ। कुनै वर्ष धेरै आउँछ, कुनै वर्ष थोरै आउँछ। यसपालि धेरै आइरहेको छ
साभार Setopati.com

Recommended For You

Leave a Reply